यस HIMALI GYANKUNJA ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

Friday 26 May 2023

अबको प्रविधि र आजको कक्षाकोठा

आजको विश्वसमाज प्रविधिको खोजी र प्रयोग गर्दै अघि बढीरहेको छ । यसले वयस्क, बालबालिका र वृद्धवृद्धा सबैलाई क्रमश: दिनानुदिन आफूतिर तानिरहेको छ । यसको प्रभाव शिक्षा क्षेत्रमा अझ उत्तिकै परेको देखिन्छ । पछिल्लो समयमा विद्यालय उमेरका बालबालिकाहरुमा प्रविधिको रुची निकै बढेको पाइन्छ । तर, यसको सही सदुपयोग हुन नसक्दा वा दुरुपयोग हुँदा विद्यार्थीहरुको सिकाइ उपलब्धिमा केहि अवरोध पनि पर्न थालेको महशुष गरिएको छ । यसबाट अभिभावक, शिक्षक तथा सचेत विद्यार्थीहरु स्वयं निराश हुँदै यसको प्रयोगको वैकल्पिक उपायको खोजीमा रहेएको देखिन्छ । यस्तो नैराश्यता निराकरणको वैकल्पिक उपाय खोज्ने क्षेत्र विद्यालय हो । यहि कुरालाई मध्यनजर गर्दै विद्यालय तथा शिक्षाक्षेत्रसँग सम्बन्धित निकाय र शिक्षाविद्हरु विद्यालयलाई प्रविधिमैत्री बनाउने प्रयासमा लागेको देखिन्छ, जुन वर्तमान परिप्रेक्ष्यमा बालमनोविज्ञानमा आधारित अनिवार्य शर्त पनि हो । यसर्थ अब दिनदिनै प्रविधि विनाको कक्षाकोठाको कल्पना लगभग अपवाद बन्ने भइरहेको देखिँदैछ । आजका बालबालिकाहरु प्रविधिमा एक्लै रमाउँदै सिक्दै गरिरहेको सन्दर्भमा ती बालबालिकाहरुलाई शिक्षण गर्ने हामी शिक्षकहरुले प्रविधिलाई किनारा लगाएर बस्न सक्ने अवस्था पनि देखिँदैन । त्यसैगरी प्रविधिले बालबालिकाहरुको मनोविज्ञान मात्र होइन शिक्षकहरुलाई समेत कक्षाकोठा जान उत्साहित गराइरहेको पछिल्लो यथार्थ पनि हो । अन्तत: हामी शिक्षकहरुले सिकाइमैत्री प्रविधिको अधिकतम प्रयोग गर्दै कक्षाकोठाको सिकाइ क्रियाकलापलाई रोमाञ्चक र उपलब्धिमूलक बनाउन सकिन्छ भन्ने मान्यताबाट प्रेरित हुनु पर्दछ । विद्यार्थीहरुलाई विद्यालयमा मोबाइललगाएत प्रविधिका साधनहरु निषेध नगरी उनीहरुलाई ती साधनहरुको उच्चतम र प्रभावकारी प्रयोगको माध्यमद्वारा सिकाइमा उत्प्रेरित गर्न सक्नु नै अबको विद्यालय शिक्षामा प्रविधिमैत्री कक्षाकोठाको चिन्तन हो भन्ने लाग्छ । 

No comments:

Post a Comment